शोभा बनिन् काठमाडौं महानगरकी एक मात्र महिला वडाध्यक्ष

१४ जेठ,काठमाडौं । ३२ वडा रहेको काठमाडौं महानगरपालिकामा शोभा सापकोटा एक मात्र महिला वडाध्यक्ष भएकी छन् ।


काठमाडौं महानगरपालिका वडा नम्बर १४ बाट एमालेको उम्मेदवार बनेकी सापकोटा ३ हजार ८०७ मत प्राप्त गरी बिजयी भएकी हुन् । महानगरपालिकामा ठूला पार्टीबाट महिला वडाध्यक्ष उठेकी उनीमात्र थिइन् ।

सापकोटासहित उनको प्यानलनै कांग्रेस भन्दा करिव एक हजार मत अन्तरले विजयी भएको हो । शोभा वडाध्यक्ष निर्वाचित हुँदा उनकै प्यानलका सदस्यहरु रश्मी खड्का,उर्मिला सेन्चुरी,बिनोद थापा र बसन्त महर्जन विजयी भएका छन् ।

काठमाडौं महानगरपालिकाले महिला वडाध्यक्ष पाएको २५ वर्षपछि हो । २०५४ सालमा एकजना पनि महिला वडाध्यक्ष निर्वाचित भएका थिएनन् ।

त्यसअघि २०४९ को निर्वाचनमा तत्कालिन वडा नम्बर ३५ हाल ३२ नम्बर वडाबाट एमालेकी सबिता भट्टराई निर्वाचित भएकी थिइन् ।

शोभा सापकोटा एमालेमा निरन्तर क्रियाशील महिला नेता हुन् । उनी काठमाडौं जिल्ला कमिटी सदस्य र अखिल नेपाल महिला संघको केन्द्रीय उपसचिव हुन् ।

उनको परिवार कांग्रेस पृष्ठभूमिको भए पनि उनी शुरुदेखिनै एमालेको राजनीतिमा लागिन् । शोभाका दाजु डिल्लीराज शर्मा खनाल पर्वतबाट २०५६ मा कांग्रेसको सांसद निर्वाचित भएका थिए ।


Don't Forget To Join US Our Community