काठमाडौ । सरकारले तोकेको मापदण्डविपरीत सिसा (लेड) मिसाइएका सात गरी रंग (पेन्ट्स) बजारमा बिक्री भइरहेको पाइएको छ । जस्मिन, जेनिस, गौरीशंकर, एपोलो, आरती, जि सेभेन र अमेरिकन पेन्टमा अन्तर्राष्ट्रिय र नेपालको मापदण्ड ९० पिपिएम (पार्ट पर मिलियन) भन्दा बढी सिसा मिसाएको पाइएको हो।
जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र (सेफेड) नेपालले गरेको १८ थरी पेन्टमाथिको अनुसन्धानले सातवटामा ९० पिपिएमभन्दा बढी सिसा प्रयोग गरेको फेला पारेको हो। वातावरण वैज्ञानिक एवं केन्द्रका एक उच्च अधिकारीका अनुसार १८ मध्ये आठले मापदण्ड पूरा गरेको, सातले मापदण्ड उल्लंघन गरेको र तीनले पनि कुनै न कुनै रूपले मापदण्डविपरीत बजारमा ल्याएको जानकारी दिएका हुन्।
‘विश्व स्वास्थ्य संगठनले सिसालाई विश्वव्यापी रूपमा जनस्वास्थ्यलाई असर पुर्याउने प्रमुख १० घातक रसायनमध्ये एक प्रमुख भनी पहिचान गरेको छु, उनले भने, ‘सरकारले घर, स्कुल, फर्निचर आदि रंग्याउने पेन्ट्समा २०७१ पुस ७ गतेदेखि ९० पिपिएमको मापदण्ड तोकिए पनि अझै झन्डै ४० प्रतिशत रंग मापदण्डविपरीत उत्पादन भइरहेको केन्द्रले हालै गरेको अध्ययनले देखाएको छ।
मापदण्डविपरीत रंगमा सिसा (लेड) प्रयोग गरेका कारण मानव स्वास्थ्य जोखिममा परेको पाइएको छ। सिसाका कारण प्रजनन शक्तिसमेत कमजोर हुने, गर्भधारण नहुने, बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने, मिर्गौला खराब हुने, डिप्रेसन हुने, कान नसुन्ने, आँखा नदेख्ने, पेटका अनेक समस्या हुने, टाउको दुख्नेजस्ता थुप्रै असर देखिएको छ। जस्मिनले मह जोडीलाई ब्रान्ड एम्बेस्डर बनाएर विज्ञापन खेलाएको देखिन्छ । सेलिब्रेटीप्रति जनमानसले विश्वास गर्छ त्यसैले उनीहरूले पनि सरकारी मापदण्ड ख्याल गरी शारीरिक र मानसिक क्षतिप्रति जिम्मेवार बन्नुपर्छ।
सिसाका कारण महिलामा गर्भ धारण नहुनेदेखि पुरुषमा नपुंसकता बढ्नेसम्मका असर पर्ने बताए। ‘रंग मात्र होइन, एसिड ब्याट्री, बुलेट (गोली), गरगहना, लिपिस्टिक, गाजल, सिन्दुर आदिमा सिसाको मात्रा हुन्छ, उनले भने, ‘सिसा शरीरलाई कत्ति पनि चाहिन्नँ तर हरेक कुरामा यो प्रयोग भएकाले उठेदेखि सुतेसम्म यिनको सम्पर्कमा आउनुपर्ने हुँदा यसले शरीरमा पूरै विषकै रूपमा काम गर्छ। अन्ततः यसले ज्यानसमेत लिन्छ। यसले रक्तअल्पता, कब्जियत हुने, अनिद्रा हुने, चिटचिटाहट बढ्ने, तौल घट्ने र अचेत अवस्थामा पुग्नेसम्मको अवस्थामा पुर्याउँछ।
विज्ञहरुका अनुसार सिसाको सम्पर्कबाट हुने दीर्घकालीन स्वास्थ्यसम्बन्धी समस्याले बर्सेनि सरदर आठ लाख ५३ हजार मानिसको मृत्यु हुने गरेको छ भने एक करोड ६८ लाख विभिन्न प्रकारले अशक्त जीवन बिताउन बाध्य छन्। विश्वको जनसंख्याको ९.३ प्रतिशतमा बौद्धिक असक्तता देखिने गरेको छ, ४ प्रतिशतलाई मुटुसम्बन्धी रोग र ६.६ प्रतिशतलाई हृदयाघात (स्ट्रोक) परेको तथ्यांक संगठनसँग रहेको उनको भनाइ छ। सिसाले बालबालिकालाई सबैभन्दा बढी र छिटो असर पुर्याउने जानकारी दिँदै उनले भने, ‘सिसाका कारण पाँच वर्षमुनिका बालबालिकामा हुने असरबाट मात्रै नेपालमा बर्सेनि १ खर्ब ५३ अर्ब रुपैयाँ बराबरको क्षति भइरहेको अनुमान छ । यसैले सचेत बनौँ । आफ्नो शरिर आफैलाई हानी हुने काम नगरौँ । सचेतनाका लागि सक्दो सेयर गरौँ ।
