भारत भ्रमणमा रहेका ट्रम्पको सुरक्षाका लागि खटाइयो ५ वटा लंगुर, ट्रम्पले आग्रा भ्रमण गर्दा दिन्छन् लंगुरले सुरक्षा

नयाँ दिल्ली । सुन्दै अचम्म लाग्न सक्छ भारतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सुरक्षाका लागि सुरक्षाकर्मी मात्र होइन लंगुर पनि खटाएको छ । अमेरिकी राष्टैपति ट्रम्प आफ्नो दुई दिने राजकीय भ्रमणका लागि सोमबार भारत पुगेका छन् । उनको भ्रमणलाई सुरक्षित बनाउन भारतले सक्दो प्रयास गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्पलाई अहमदाबाद एयरपोर्टमा अंकमाल गर्दै स्वागत गरे । पत्नी मेलानिया र छोरी इवांकाका साथ ट्रम्प भारत भ्रमणमा पुगेका हुन् ।

ट्रम्पको सुरक्षाका लागि मात्रै प्रत्यक्ष रुपमा १ लाखको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको छ । ट्रम्पको भ्रमणका दौरान सुरक्षा व्यवस्थापनमा मात्रै भारत सरकारले १ अर्ब भारतीय रुपैयाँ भन्दा बढी खर्च गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।




भारत सरकारले राष्ट्रपति ट्रम्पको सुरक्षाका लागि ५ वटा लंगुर परिचालन गरेको छ । ट्रम्पले आग्रास्थित ताजमहलको भ्रमण (अवलोकन) गर्ने क्रममा ती लंगुरहरुलाई परिचालन गरिने जनाइएको हो । भारतको आग्रा शहर देशकै सबैभन्दा बढी बाँदर हुने ठाउँ हो । ताज महलमा पनि बाँदरले उत्पात मच्चाउने गर्छन् ।

तिनै बाँदरका कारण उत्पन्न हुने सुरक्षा चुनौतीको सामना गर्न भारत सरकारले ५ वटा लंगुरलाई सुरक्षाका लागि परिचालन गरेको जनाइएको छ । लंगुरलाई देखेपछि बाँदरहरु भाग्ने भएकाले सुरक्षाका लागि लंगुरको प्रयोग गरिएको हो । ठूलो संख्यामा मानवीय जनशक्ति परिचालन गर्दा पनि बाँदर भगाउन नसकिएपछि सरकारले लंगुर परिचालन गरेको भारतीय सञ्चार माध्यमले ब्याख्या गरेका छन् ।

Don't Forget To Join US Our Community